कोभिड १९को संक्रमण रोक्न भारतमा पनि यात्रा प्रतिबन्ध, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

Machchapuchchre

काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ । १५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

भारतमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६० पुगेको छ । बुधबार १० नयाँ संक्रमित फेला परेका थिए, जसमा आठ जना केरलाका हुन् । यस्तै दिल्ली र राजस्थानका एक–एक जनामा नयाँ संक्रमण पुष्टि भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार वित्त आयोगले १३ मार्चमा तय भएको सबै राज्यका अर्थमन्त्रीहरुको संयुक्त बैठक रद्द गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्