प्रतिनिधिसभा बैठक बस्दै, कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

Machchapuchchre

काठमाडौं । प्रतिनिधिसभाको बैठक (आज) शुक्रबार बस्दैछ । बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ । सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ । सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका संक्रमित बिरामी छिमेकी मुलुक भारतमा समेत फेला परेकाले नेपाल उच्च जोखिममा छ । कोरोना रोकथामका लागि सरकारले देशभर अनिश्चितकालका लागि ठूला सभा, सम्मेलन, भोजभतेर जस्ता कार्यक्रम नगर्न, भिडभाडमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न आह्वान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्