प्रधानमन्त्री ओलीको शल्यक्रिया जारी, ४ बजेसम्ममा सकिने

Machchapuchchre

काठमाडाैं । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ । बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

अस्पतालले बिहान ९ बजेदेखि शल्यक्रिया थाल्ने बताएपनि शल्यक्रिया अघि गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट केहिढिलामात्र आएकाले १० बजेमात्र अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई झापा चारखालीकी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी छन् । उनलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहिबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो । मिर्गौला दान संग्रौलाले आफूले प्रधानमन्त्री ओलीका लागि नभई भोलिको नेपालका लागि मिर्गौला दान गरेको बताएकी थिइन ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट डा अनन्त कुमार नेपाल आएका छन् । डाक्टर कुमारले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट हिजै लाइसेन्स समेत लिएका थिए । उनलाई ६ दिनका लागि लाइसेन्स दिइएको छ ।

डा अनन्त प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक समेत हुन् । अहिले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया भइरहेको त्रिवि शिक्षण अस्पताल परिसरमा ओलीका शुभचिन्तक, नेकपाका नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्