१५ दिनभित्र नेपाल फिर्ता हुने राजदूत लीलामणि पौडेललाई सरकारको निर्देशन

Machchapuchchre

काठमाडाैं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए ।

नाम उल्लेख नगर्न आग्रह गर्दै ती मन्त्रीले पौडेललाई फिर्ता बोलाउनुको कारण भने थाहा नभएको जानकारी दिए। ‘मन्त्रिपरिषद् बैठकमा किन फिर्ता गराउन लागिएको भन्‍नेबारे छलफल भएन तर चीनका लागि नेपाली राजदूतलाई १५ दिनभित्र फिर्ता हुन समय दिइएको छ,’ ती मन्त्रीले भने। चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो। सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पाँच सचिवलाई सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयामा सरुवा गरिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्