मलेशियाको नयाँ प्रधानमन्त्रीमा मोहिउद्दिन यासिन

Machchapuchchre

मलेसियामा पूर्व गृहमन्त्री मोहिउद्दिन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी ‘प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो । सत्ता कलहलाई थामथुम पार्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गरेकका थिए ।

मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका हुन् । शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेलगत्तै महाथिर र उनको दलका नेताहरु स्तब्ध भएका थिए ।

महाथिर र उनका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई जबर्जस्ती सत्ताच्यूत गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिए । महाथिरको उक्त मन्तव्यका कारण मुलुकको राजनीतिक सङ्कट जारी रहेको जानकारहरुको भनाई छ । महाथिरले भने, ‘यो एकदम अनौठो कुरा हो । हार्नेहरूले सरकार बनाएका छन्, विजेताहरू विपक्षीमा छन् । यो त कानुनी शासनको विपरीत हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्