कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा, दिल्ली सरकारले दियो अनुमति

Machchapuchchre

नयाँदिल्ली । आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो।

तर मुद्दा अगाडि बढाउनका लागि दिल्ली सरकारको अनुमति प्राप्त भएको थिएन। दिल्ली सरकारले यसलाई टाल्दै आए पनि पछिल्लो पटक अनुमति दिएको हो। देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेट भएको केही दिनपछि नै कन्हैया कुमार, उमर खालिद र आनिर्बान भट्टाचार्यसहितका विद्यार्थी नेतालाई विरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो।

केन्द्रको नेतृत्वमा रहेको भारतीय जनता पार्टीको सरकारले कन्हैया कुमारसहितका विद्यार्थी नेतालाई देशद्रोहको मुद्दा नचलाएको भन्दै आलोचना गर्दै आएको थियो। सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको आरोप लागेको थियो। कथित घटनाको चार वर्षपछि अब कन्हैयासहित अन्य विद्यार्थीविरुद्ध अदालतमा देशद्रोहको आरोपमा मुद्दा चल्ने भएको छ।

गत हप्ता मात्रै दिल्ली प्रहरीले मुख्यमन्त्री केजरीवाललाई पत्र लेखेर कन्हैयासहितका विद्यार्थी नेतालाई मुद्दा चलाउने अनुमति दिन आग्रह गरेको थियो। एक वर्षअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा कन्हैया, उमर, आनिर्बानसहित ९ जना विद्यार्थीविरुद्ध एक हजार २ सय पृष्ठको आरोपपत्र तयार गरेको थियो। तर अदालतले देशद्रोहको मुद्दा चलाउन राज्य सरकारको अनुमतिबिना सम्भव नभएको भन्दै रोकेको थियो। दिल्ली प्रहरीले भारतीय संसद् भवन आक्रमणका मास्टरमाइन्ड अफजल गुरुको समर्थन कन्हैयासहितका विद्यार्थीले नारा लगाएको पनि आरोप लगाएको छ।

दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको कन्हैया कुमारले प्रतिक्रिया दिएका छन्। मेजेस्ट्रियल इन्क्वायरीमा जवाहरलाल नेहरु विश्वविद्यालयका कुनै पनि विद्यार्थी भारतविरोधी अभियानमा नलागेको पुष्टि भएको उनले बताएका छन्। कन्हैया कुमार अहिले कार्यक्रमका लागि झारखण्डको राँचीमा रहेका छन्।

पछिल्लो समय कन्हैया कुमारले बिहारमा विभिन्न ठाउँमा नागरिकता संशोधन कानुनको विरोधमा जन गण मन यात्रा गरेका थिए। ‘संविधान बचाओ, नागरिकता बचाओ नारा’ सहितको उक्त यात्रामा कन्हैयाको समर्थनमा हजारौं नागरिकको उपस्थिति रहेको थियो। कन्हैयाको यस यात्रालाई आउँदो बिहार विधानसभा चुनावको तयारीका रुपमा समेत हेरिएको थियो।

बिहार चुनावमा कन्हैयाको उपस्थिति बलियो हुने देखिएपछि भाजपाले उनलाई रोक्नका लागि दिल्ली सरकारबाट पछिल्लो निर्णय गराएको समेत आरोप राजनीतिक विश्लेषकहरुले लाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्