खोटाङ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा राईले मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका हुन् ।
‘यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो’, राईले भने ‘देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेको छ।’ प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह समेत गरे ।
फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका थिए ।
खोटाङको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाको वडा नं १ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोत्सवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो ।
महोत्सवमा जैविक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गृहबहादुर राईले जानकारी दिए ।