भिसा थप गर्ने प्रक्रियामा अनियमितता हुने गरेको भन्दै बंगलादेशी विद्यार्थीद्वारा परराष्ट्रमन्त्री ज्ञवालीको ध्यानाकर्षण

Machchapuchchre

काठमाडौँ । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीले भिसा थप गर्ने प्रक्रियामा अनियमितता हुने गरेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएका छन् ।

बंगलादेशमा चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) को अध्ययन अवधि ६ वर्षको भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर विद्यार्थी भिसा एक्स्टेन्सन गर्नु परिरहेको उनीहरूको गुनासो छ। नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशले ढाका भ्रमणमा रहेका ज्ञवालीलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएका हुन्।

एसोसिएसनका अध्यक्ष नवीन यादवका अनुसार बंगलादेशमा हाल पाँच हजारभन्दा बढी नेपाली विद्यार्थी चिकित्साशास्त्र अध्ययनरत छन्। बंगलादेशमा एकैपटक दुई वर्षको भिसाका लागि निवेदन दिन सकिने भए पनि नेपाली विद्यार्थीले भने हरेक वर्ष एक्स्टेन्सन गराउनुपर्ने बाध्यता छ। ‘दुई वर्षका लागि भिसा शुल्क तिरे पनि एक वर्षको मात्रै भिसा पाइन्छ,’ यादवले भने। उनका अनुसार विद्यार्थीले यो समस्याबारे ढाकास्थित नेपाली दूतावासलाई समेत जानकारी गराइसकेका छन्।

त्यसका साथै उनीहरूले बंगलादेश सरकारद्वारा दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्ने माग गरेका छन्। सरकारले नेपाली विद्यार्थीका निम्ति बंगलादेशमा कुन संकायमा कति छात्रवृत्ति उपलब्ध गराउने गरेको छ, त्यसको प्रक्रिया र मापदण्ड पारदर्शी बनाउन सकेको छैन। ‘छात्रवृत्ति प्रक्रियाको पारदर्शी मापदण्डको अभावमा केही कन्सल्टेन्सी र बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेका छन्,’ यादवले भने।

उनका अनुसार नेपाली विद्यार्थीहरू बंगलादेशका मेडिकल कलेजहरूको यथार्थ जानकारीको अभावका कारणसमेत कन्सल्टेन्सी र बिचौलियाबाट ठगिने गरेका छन्। बंगलादेशमा नेपाली विद्यार्थी भर्नाका लागि कलेजको मापदण्ड तोकिएको छैन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्