अदालतले संसदलाई पत्र नलेखेसम्म महरा बैठकमा नजाने

Machchapuchchre

काठमाडाैं । बलात्कार मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले पत्र नलेखेसम्म प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने भएका छन्। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।

काठमाडौं जिल्ला अदालतले महराको फैसला तयार पारेको छैन। फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाएमात्र उनको सांसदको हैसियत पुनर्वहाली हुनेछ। उनको सांसद पदको सेवा, सुविधा र हैसियत अहिले स्थगनमा छ।

‘अदातलको फैसला वा पत्र आएको अवस्थामा हामी प्रतिनिधि सभाको बैठकमा उहाँको पदीय हैसियत स्थगनबाट हटेको सूचना जानकारी गराउँछौं’, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, ‘संसद नभएको अवस्थामा हामी सूचना टाँस्छौं।’

अदालतले फैसला तयार नपारे पनि सोमबार कारागारलाई सफाइको पत्र दिएको थियो। पत्रकै आधारमा महरा जेलबाट छुटेका थिए। संसद सचिवालयलाई पनि फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाउन सक्नेछ। पत्र दिएको अवस्थामा उनको पदको स्थगन हट्नेछ।

बलात्कारको आरोप लागेलगत्तै महराले पार्टीको निर्देशनविपरित सांसद पदबाट राजीनामा दिएका थिएनन्। नेकपाको सचिवालयले उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। महराले अब पूर्वसभामुखको हैसियतमा प्रतिनिधि सभाको पहिलो लाइनमा सिट पाउनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्