चीनले लगायो हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग अनिश्चितकालका लागि बन्द

Machchapuchchre

काठमाडौं । कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ । औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन् । अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ ।

यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्। नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय ब्याङ्कले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ तथा प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ । हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्