ललितानिवास जग्गा प्रकरणमा कसैप्रति आग्रह-पूर्वाग्रह छैन – प्रधानमन्त्री ओली

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् । ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे ।

सरकार गठन भएको दुई वर्ष पुरा भएको दिन शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो ।’

प्रधानमन्त्री ओलीले अघि भने, एउटा गीत सम्झिन्छु म, ‘देखाउनेले दाग देखायो, किन रुवाबासी ….।’ सरकार कसैप्रति आग्रही वा पूर्वाग्रही नभएको उनले बताए । आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।

सम्बाेधनका क्रममा ओलीले यति होल्डिङ्सको जग्गा प्रकरणबारे आफू जानकार रहेको बताएका छन् । आफ्नो नेतृत्वको सरकारले दुई वर्षमा गरेको उपलब्धीबारे शनिबार संसद्मा बोल्दै उनले भने, ‘नेपाल ट्रस्टको विषयमा भइरहेको चर्चा परिचर्चा मेरो जानकारीमा छ, ट्रस्टको सम्पत्तिको संरक्षण गरी यसलाई मुलुकको हित हुने गरी उपयोग र प्रवर्द्धन गर्ने काम सरकारले कानून बमोजिम दृढताका साथ गर्छ ।’

प्रधानमन्त्री ओलीले विगतमा मातातीर्थस्थित ट्रस्टको जग्गा केही व्यक्तिलाई लाभ पुर्‍याउने गरी दर्ता गरिएको बताए । १७४ रोपनी जग्गा नेपाल ट्रस्ट ऐन विपरीत नक्कली मोही खडा गरेर व्यक्तिको नाममा पुर्‍याइएको बताए । ‘बालुवाटारस्थित ललिता निवासको जस्तै यसको पनि छानविन हुन्छ, त्यो जमीन फिर्ता ल्याइन्छ’, प्रधानमन्त्री ओलीले संसदमा भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्