कोरोनाले लियो एकै दिन ९७ जनाको ज्यान, मृत्यु हुनेको संख्या ९ सय १० पुग्यो

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो संगै कोरोनाको महामारीबाट ९ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये ९ सय ८ जना चिनियाँ नागरिक हुन ।

मृत्यु हुने अन्य दुई जना गैह्रचिनियाँ छन । एक जना अमेरिकी र जापानीको पनि कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको महामारी फैलिएको डेढ महिनामा ४० हजार १ सय ७१ जना संक्रमित भएका छन । वुहानबाट फैलिएको कोरोना भाइरसको अहिलेसम्म विश्वका ३० मुलुकमा देखिएको पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितलाई बचाउँन चीनले छुट्टै अस्पताल निर्माण गरेर उपचार गरे पनि नियन्त्रणमा आउन सकेको छैन । यसअलवा चिनले आफ्ना मुलुकका नागरिकलाई आन्तरिक यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले संसारभर स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ ।

यसलगत्तै कतिपय मुलुकले चीन भ्रमण गरेर फर्किनेहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन भने चीनसँगको हवाई सेवा समेत तत्काललाई प्रतिबन्ध लगाइसकेका छन । तर पनि कोरोनाको महामारी नियन्त्रणमा आउन सकेको छैन । हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो। जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको मृत्यु भएको थियो। कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू अझै काममा फर्कन सकेका छैनन् । आवतजावतमा प्रतिबन्ध कायमै गरिएकाले उनिहरु घरमै बस्न बाध्य छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्