कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

Machchapuchchre

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार उक्त जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जान लागेकाे हाे ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको आयाेगकाे आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको हो ।

बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम कारवाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्यमन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्