माइतीघर मण्डलामा प्रदर्शन गर्दै कांग्रेसले लगायो नारा- कठै अख्तियार, नेकपासामु लम्पसार

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको छ । माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायतका नारा लगाएका थिए ।

केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ ।

नेपाली कांग्रेसले विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्