वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गम्भीरता नदेखाउनु आपत्तिजनक – देउवा

Machchapuchchre Bank

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण देखिएको चीनको वुहानबाट नेपालीलाई उद्धार गर्न सरकारसँग अनुरोध गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले वुहानमा रहेका करिब एक सय जना विद्यार्थी र त्यहाँ रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर्न सरकारलाई आग्रह गरेका हुन्।

‘विश्व स्वास्थ्य संगठनद्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरू गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजक गराउँदै सार्वजनिक अपिल गर्न चाहन्छु,’ सभापति देउवाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाएको देउवाको आरोप छ। ‘वुहानमा रहेका एक सय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दु:खद र आपत्तिजनक छ,’ देउवाले भनेका छन्।

उनले वुहानबाट छिटो नेपालीलाई उद्धार गर्ने प्रवन्ध मिलाउन सरकारलाई अनुरोध पनि गरेका छन्। उद्धार गरेर नेपाल ल्याएपछि स्वास्थ्य जाँच प्रतिवेदन नआउञ्जेल उनीहरूलाई अलग्गै राख्न पनि देउवाको आग्रह छ। देउवाले नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्प डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न पनि सरकारसँग माग गरेका छन्।

‘वुहानबाट उद्धार गर्ने नेपालीलाई स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदासम्म अलग्लै राख्ने शिविरको प्रवन्ध गर्न सरकारसँग अनुरोध गर्दछु,’ देउवाले भनेका छन्, ‘संक्रमण परीक्षण गर्न अलगै केन्द्र स्थापना गर्नुपर्छ। कोरोना संक्रमणलाई गम्भीरताका साथ लिन पनि सरकारलाई सचेत गराउन चाहन्छु।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्