ज्ञापनपत्र बुझाउन गएका अखिल क्रान्तिकारीका नेता त्रिचन्द्रबाट गिरफ्तार

Machchapuchchre

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का तीन नेतालाई प्रहरीले त्रिचन्द्र क्याम्पसबाट गिरफ्तार गरेको छ । स्ववियु चुनाव सम्बन्धमा संगठनले अगाडि सारेका दुईबुँदे मागपत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको हो । मागपत्र बोकी क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका विद्यार्थी नेता रञ्जन लिम्बु, सपना मगर र सदल राईलाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

स्ववियु चनुावमा भाग लिने वातावरण निर्माणको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा माग पत्र बुझाइरहेको छ । स्ववियु चूनावमा भाग लिने वातावरणको लागि माग बुझाउन जाँदा प्रहरीले संगठनका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला काठमाडौँकी अध्यक्ष तारा संज्यालले विज्ञप्ति जारी गरेर स्ववियु चुनावमा भाग समेत सरकारले रोक्ने कार्य गरेको भन्दै विरोध जनाएकी छन् ।

“स्ववियु चुनावमा भाग लिने वातावरणको लागि हाम्रो संगठनले दुई बँुदे माग अगाडि सारेको छ । उक्त मागपत्र बुझाउँने क्रममा प्रहरीले त्रिचन्द्र क्याम्पस प्रमुखको कार्यकक्षबाट हाम्रो संगठनका जिल्ला सदस्य क. रञ्जन लिम्बु, क. सपना मगर र इकाई सदस्य क. सुदल राकईलाई प्रहरीले गिरफ्तार गरेकोप्रति खेद प्रकट गर्दै रिहाईको माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

उनले आफ्नो संगठनलाई बाहिरै राखेर जबरजस्त स्ववियु चुनाव गराए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि संज्यालले दिएकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्