सरकारलाई मेडिकल कलेज सञ्चालकहरुको जवाफ – अतिरिक्त शुल्क फिर्ता गर्दैनौं

Machchapuchchre

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको गैरकानुनी रकम फिर्ता नगर्ने अडान लिएका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४÷७५ र २०७५÷७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने भनी शिक्षामन्त्रीलाई पत्र बुझाएका छन् । आफूहरुले विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको र गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्कमध्येबाटै सरकारलाई राजस्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने उनीहरुले बताएका छन् ।

रजिष्ट्रेशन शुल्क, सम्बन्धन शुल्क, परीक्षा शुल्कलगायत अतिरिक्त पैसा लिइएको र सो रकम विश्वविद्यालयलाई नै तिर्नुपर्ने भएकाले फिर्ता गर्न नसक्ने उनीहरूले अडान लिएका हुन्। निजी मेडिकल कलेज सञ्चालकले यस्तो अडान राख्दै पत्र बुझाएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयका उपकुलपतिसँग परामर्श गरिरहेका छन्।

सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोके पनि मेडिकल कलेजहरुले बढी लिएको भन्दै धेरै कलेजका विद्यार्थी अहिले आन्दोलनमा छन् ।

‘उपरोक्त शैक्षिक सत्रहरुको हकमा विश्वविद्यालयबाट प्राप्त पत्रको आधार र अधीनमा रही तोकिएको शुल्कहरु लिई सो शुल्कहरु मध्येबाट बुझाउनुपर्ने शुल्कहरु विश्वविद्यालय, मेडिकल काउन्सिल तथा आन्तरिक राजस्व कार्यालयमा समेत बुझाइ सकिएको साथै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७६ को परिच्छेद ६ को दफा ६.४ मा लेखिएको निर्देशनअनुसार गत आर्थिक वर्षको कर्मचारी बोनससमेत वितरण गरिसकेको ब्यहोरा सहर्ष जानकारी गराउँछौं’ मेडिकल कलेज सञ्चालकले शिक्षामन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ ।

मेडिकल कलेजलाई अतिरिक्त शुल्क बुझाउन शिक्षा मन्त्रालयले दिएको पन्ध्र दिने समय बुधबार नै सकिएको छ। यो समयमा शुल्क फिर्ता नगरे कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको थियो। मंगलबार गृह मन्त्रालयले शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई पक्रेर कारबाही गर्न निर्देशन दिएको थियो।

सरकारले एमबिबिएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकामा ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको छ। तर, कलेजहरूले बढी लिएको भन्दै धेरै कलेजका विद्यार्थी आन्दोलित छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्