प्रमुख जिल्ला अधिकारीको आदेशपछि अन्ततः धरौटीमा छुटिन् गायिका आस्था राउत

Machchapuchchre

काठमाडौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई  ४ हजार धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

सोमबार आफै महानगरीय प्रहरी परिसर पुगेकी उनलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्तो आदेश दिएका थिए।

सोमबार राउतलाई आफन्तको सल्लाह र समन्वयमा आत्मसमर्पण गराइएको हो । उनी मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राउतले आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन्। उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन्।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

सोहि बिषयलाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई ‘डन्ठे, पिउसा र प्युपा’ भन्दै हंगामा मच्चाएकी थिइन् । उनको उक्त अभिव्यक्तिको कतिपय कलाकारहरुले समेत आलोचना गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्