सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त सुरक्षा गस्ती

RBB

बर्दिबास । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको भनाइ छ । पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका ३ वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । बलवा – २ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्