८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन

Machchapuchchre

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् । विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए-नभएको बारे हेरिनेछ । रिसोर्टले निर्धारित मापदण्ड पूरा गरे नगरेको बारेमा समेत अध्ययन गरिने भएको छ ।

यस्तै समितिले आगामी दिनयमा यस्ता घटना हुन नदिन के गर्ने भन्नेबारेपनि सुझाव दिने छ । मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । भारत केरेलका उनीहरुको १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि नेपाल आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्