नेविसंघका नेताहरु ३६ दिनदेखि रिले अनसनमा, विधान कार्यान्वयन गर्न माग

Machchapuchchre

काठमाडौं । विधान कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का नेताहरु ३६ दिनदेखि रिले अनसन बसेका छन् ।

नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नभएको भन्दै केहि नेताहरुहरु अनसन बसेका हुन् ।

विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ । नेविसङ्घभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ । नेपाली कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे ।

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरू अध्यक्षले आफ्नो समयमा अधिवेशन गर्न सकेनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्