चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिती

Machchapuchchre

अर्थ राजनीति  । नेपालको  अर्थतन्त्रको  चालू  आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  अवस्था  मिश्रित देखिएको  छ ।  नेपाल  राष्ट्र  बैंकले  गरेको  मंसिर  मसान्तसम्मको  समीक्षामा  शोधानान्तर  स्थिती, व्यापार  घाटा, विदेशी  विनिमय  जस्ता  सूचक  सकारात्मक  देखिएका  छन्  भने  उच्च  मूल्यवृद्धि, वित्तीय क्षेत्रको  असन्तुलन,  रेमिट्यान्सको  न्यून वृद्धि  जस्ता  समस्या  पनि  देखा परेका छन्  ।

२०७६  मंसिरमा  वार्षिक  बिन्दुगत  उपभोक्ता  मुद्रास्फीति  ६.५५  प्रतिशत  रहेको  छ  भने  अघिल्लो  वर्षको सोही  महिनामा  यस्तो  मुद्रास्फीति  ३.७१  प्रतिशत  रहेको  थियो । समीक्षा  महिनामा  गैर–खाद्य  तथा  सेवा  समूहको  मुद्रास्फीति  ४.१० प्रतिशत र  खाद्य  तथा  पेय  पदार्थ  समूहको  मुद्रास्फीति  ९.७६  प्रतिशत रहेको छ  । निर्यातमा  वृद्धि  र  आयातमा  गिरावटका  कारण  कुल  वस्तु  व्यापार  घाटा ६.३  प्रतिशतको  गिरावटसँगै पाँच  खर्ब ३३  अर्ब ६४  करोड  रुपैयाँ  कायम  भएको  छ  ।  गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो । पाम तेल, अलैंची, जुटका सामान, धागो  (पोलिष्टर तथा अन्य) , आयुर्वेदिक  औषधि  लगायतका  वस्तुको  निर्यात  बढेको  छ  भने  जस्तापाता, तार, तयारी  पोशाक, जुस, तामाको तार  तथा  रड  लगायतका  वस्तुहरुको  निर्यात  घटेको  छ ।  त्यस्तै, कच्चा  पाम तेल,  हटरोल सिट,  रासायनिक मल,  अन्य घ  मेसिनरी  तथा  पाटपुर्जा, विद्युतीय  सामान  लगायतका  वस्तुको  आयात  बढेको  छ  भने  एम.एस.  बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका  साधन  तथा  पार्टपुर्जा,  सिमेन्ट  लगायतका  वस्तुहरुको  आयात घटेको  छ ।

नेपालमा गत  आर्थिक  वर्षको  तुलनामा  चालू  आर्थिक  वर्षको  पाँच  महिनामा  ०.१  प्रतिशत  बढी रेमिट्यान्स  भित्रिएको  छ । मंगसिर  मसान्तसम्ममा  तीन  खर्ब  ७६  अर्ब  ९९  करोड  रुपैयाँ  रेमिट्यान्स आप्रवाह  भएको  छ  | चालु  खाता  घाटा  गत  वर्ष  एक  खर्ब  १९  अर्ब  रहेकोमा  यस  वर्ष  चालु  खाता घाटा  ७०  अर्ब  ३२  करोड  रुपैयाँ  कायम  भएको  छ  भने  पुँजीगत  ट्रान्सफर  रु.५  अर्ब  ६५  करोड  र प्रत्यक्ष  वैदेशिक  लगानी  रु.६  अर्ब  ५७  करोड  रहेको  छ । शोधनान्तर  स्थिति  २३  अर्ब  ३०  करोड रुपैयाँले  बचतमा  छ । २०७६  असार  मसान्तमा  रु.१०३८  अर्ब  ९२  करोड  रहेको  कुल  विदेशी  विनिमय सञ्चिति  ४.८  प्रतिशतले  वृद्धि  भई  २०७६  मंसिर  मसान्तमा  रु.१०८८  अर्ब  ३१  करोड पुगेको  छ । यसमध्ये, नेपाल  राष्ट्र  बैंकमा  रहेको  सञ्चिति  २०७६  असार मसान्तमा  रु.९०२  अर्ब ४४  करोड  रहेकोमा  २०७६  मंसिर  मसान्तमा  रु.९४६  अर्ब २९  करोड  पुगेको  छ ।  बैंक  तथा  वित्तीय  संस्था  (नेपाल राष्ट्र बैंकबाहेक)  सँग  रहेको  विदेशी  विनिमय  सञ्चिति  २०७६  असार  मसान्तमा  रु.१३६  अर्ब  ४७  करोड रहेकोमा  २०७६  मंसिर  मसान्तमा  रु.१४२  अर्ब  ३  करोड  पुगेको  छ ।  बैंक  तथा  वित्तीय  संस्थाको निक्षेप  संकलन  ४.०  प्रतिशतले  र  निजी  क्षेत्रतर्फको  कर्जा  ६.२  प्रतिशतले  बढेको  छ ।  यद्यपि,  कर्जाको वृद्धिदर  गत  वर्षको  मंसिर  मसान्तको  तुलनामा  घट्नुले  सुधारको  संकेत  देखाएको  छ ।  कृषि  लगायतका  उत्पादनशील  क्षेत्रमा  पनि  बैंकहरुको  लगानी  बढ्दैछ ।  मंसिर  मसान्तसम्मको  तथ्यांक अनुसार,  कृषि  क्षेत्रतर्फको  कर्जा  ५.६  प्रतिशत,  औद्योगिक  उत्पादन  क्षेत्रतर्फको  कर्जा  ६.८  प्रतिशत, निर्माण  क्षेत्रतर्फको  कर्जा ७.७  प्रतिशत,  यातायात,  संचार  तथा  सार्वजनिक  सेवा  क्षेत्रतर्फको  कर्जा  ८.० प्रतिशत  र  सेवा  उद्योग  क्षेत्रतर्फको  कर्जा  ७.७  प्रतिशतले  बढेको  छ ।  बैंकिङ पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको छ । ७५३ स्थानीयतहमध्ये वाणिज्य बैंक नपुगेका स्थानीय तह १० मात्रै बाँकी रहेको छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ मंसिर मसान्तमा बढेर ९२९७ पुगेको छ ।

 

 

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्