देउवाले पोखरामा दिएकाे अभिव्यक्ति झुठो र अनैतिक भएको भन्दै प्रचण्डको आपत्ति

Machchapuchchre

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याका विषयमा प्रधानमन्त्री ओलीलाई आरोप लगाउँदै पोखरामादिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । भरतपुर महानगरपालिका–१६ को चुनावी सभामा बोल्दै प्रचण्डले भने, ‘त्योभन्दा अनैतिक र झुठो अभिव्यक्ति केही हुनसक्दैन । त्यो विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन ।’

कांग्रेस सभापति देउवाले पोखरामा बोल्दा भारतले प्रधानमन्त्री ओलीसँग सल्लाहा गरेर कालापानी र लिपुलेक भारतमा समावेश गरेको नक्सा प्रकाशित गरेको आरोप लगाएका थिए । प्रचण्डले उक्त नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्रीले डाँकेको सर्वदलीय बैठकको स्मरण गराए । ‘त्यो बैठकमा देउवाजीले पनि बोल्नुभयो । सरकारले जुन अडान लिएको छ त्यसमा हाम्रो साथ र समर्थन छ भन्नुभएकै हो,’ नेता दाहालले भने । निर्वाचन हार्ने संकेत पाएर अत्तालिएपछि देउवाले प्रधानमन्त्रीलाई गाली गर्न थालेको दाहालले बताए ।

‘सर्वदलीय बैठकमा देउवाले प्रधानमन्त्रीलाई म तपाईंको साथमा छु भन्नुभयो । तर अहिले भारत सरकारसँग सल्लाहा गरेर नक्सा छाप्न लगाएको हो भन्न थालेपछि नेपाली कांग्रेसका नेता साथीहरु अलि धेरै नै अत्तालिएको देखिन्छ,’ दाहालले भने । उनले चुनावका मुखमा गरिने यस्ता ‘उट्पट्याङ, र अनैतिक’ कुरा जनताले नपत्याउने बताए । दाहालले भने, ‘सायद नेपाली कांग्रेसका साथीहरुले आफ्ना पार्टीका नेताले यही कुरा नबुझेर यो गती भएको होला कि भनेर आत्मसमिक्षा गर्नु उचित हुने छ ।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्