भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

Machchapuchchre

काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो।

गृहमन्त्री थापाको यस्तो निर्देशनसँगै विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्ने मेडीकल कलेज संचालकहरुको भागाभाग समेत भएको छ । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन्। आइतबार पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो।

यसअघि गत असोज र कार्त्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो ।

सरकारले दिएको १५ दिनको समयसिमा आइतबार सकिएको छ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्