हङकङ जिल्ला परिषदको निर्वाचनमा कीर्तिमानी मतदान, ७१ प्रतिशत भन्दा बढी मत खस्यो

Machchapuchchre

हङकङ । सरकार विरोधी प्रदर्शनका कारण केही समयदेखि अशान्त रहेको हङकङमा भइरहेको जिल्ला परिषद्को निर्वाचनमा कीर्तिमानी संख्यामा मानिसहरूले मतदान गरिरहेका छन् । दिउँसोको खाना खाने समयसम्ममा नै सन् २०१५ को चुनावमा मतदान गर्ने भन्दा बढी संख्यामा मत खसेको अधिकारीहरूले जनाएका छन् ।

यो चुनावलाई संघर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको छ । लोकतन्त्र पक्षधरहरूले पाँच महिनादेखि सरकार विरोधी आन्दोलन चलिरहेको हङकङको चुनावले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरेका छन् ।

हिंसा भए मतदान केन्द्रहरू बन्द गरिनसक्ने चिन्ताका माझ आइतवार लामबद्ध भएर मानिसहरू मतदान केन्द्रमा उपस्थित भएका थिए । मतदान अघि लोकतन्त्र पक्षधर आन्दोलनकारीहरूले मानिसहरूलाई मतदान नबिथोल्न आग्रह गरेका थिए ।

हङकङको जिल्ला परिषद्मा ४ सय भन्दा बढी पार्षद्हरू निर्वाचित हुनेछन् । प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्मा आफ्नो प्रतिनिधित्व बढाउने आशामा निर्वाचनमा सहभागी भएका छन् । परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ । बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।

स्थानीय समय अनुसार बिहान साढे सात बजे मतदान केन्द्र खुलेका थिए । अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका थिए । हङकङको जनसंख्या ७४ लाख छ । ४५२ जिल्ला परिषद् पदका लागि १ हजार भन्दा बढी उम्मेदवार छन् । पहिलोपटक सबै पदहरूमा चुनाव भएको हो । ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्