प्रधानमन्त्री ओलीमाथि बाबुराम भट्टराईले लगाए यस्तो गम्भीर आरोप

Machchapuchchre

काठमाडौं । देशभर भारतीय अतिक्रमणबिरुद्ध विरोध प्रदर्शन भइरहेका बेला समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि एउटा गम्भीर आरोप लगाएका छन् । भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका हुन । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको बताए ।

‘अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको भन्दै उनले भने, ‘यहाँका शासक बाहिर राष्ट्रियताको डंका पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झकेर आफ्नो भूमि सुम्पने काम गरेका छन्, चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओलीसम्म हुन् । त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनुभएको छैन ?’

भदौ २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले राजनीतिक रुपमा बार्ता गरेर समस्या हल गर्न सुझाएको उनले सुनाए । राष्ट्रवादी भन्नुहुन्छ, अब सीमाको रक्षा कसरी गर्नुहुन्छ भनेर आफू प्रधानमन्त्रीलाई सोध्नुका साथै विकल्प पनि दिएको उनले बताए ।

आफ्नो भूमि रक्षा गर्न सेनाको प्रयोग गरेर विदेशी शक्तिलाई आफ्नो सीमाबाट हटाउने वा संवादबाट हल गर्ने दुई उपाय रहेको र आफूले दोस्रो विकल्पमा जान सुझाइको भट्टराईले सुनाए । ‘कर्मचारी तहबाट यो समस्याको हल हुँदैन । सिधै प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुस् र राज्यस्तरको वार्ता अगाडि बढाउनुस् हाम्रो साथ रहन्छ सुरुमै मैले विषय राखेको थिएँ । आजसम्म किन केही गरिएको छैन,’ भट्टराईले भने ।

उनले अघि भने, ‘हिजो कसैले थाहा नपाउने गरी डिप्लोम्याटिक नोट लेखेर पठाउनुभएको छ रे । त्योबाहेक अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो ।’ भट्टराईले बाहिर राष्ट्रवादको डंका पिट्ने र भित्रभित्र सत्ताको डरले लत्रक्क परेर बस्ने नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्