पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

Machchapuchchre Bank

Artharajniti  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लन्डनमा नोभेम्बर ४, २०२६ मा विश्व यात्रा बजार (डब्ल्यूटीएम) को अवसरमा विश्व यात्रा तथा पर्यटन परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन (यूएन टुरिजम) को संयुक्त आयोजनामा सम्पन्न २०औँ डब्ल्यूटीएम मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन् । ‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । बेन थम्पसनले सञ्चालन गरेको छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए । उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे । जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो ।

पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाहरूको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे । सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक-निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्