मोदीको हिन्दू अतिवादले भारत संकटमा – अमेरिकी एजेन्सी

Machchapuchchre

काठमाडौं । हिन्दू साम्प्रदायिक एजेण्डा र गिर्दो अर्थव्यवस्थाका कारण भारतले सन् २०२० मा धेरै ठूला चुनौती भोग्नुपर्ने निश्कर्ष अमेरिकाले निकालेको छ ।

अमेरिकी एजेन्सी युरेसिया ग्रु पले जारी गरेको वार्षिक प्रतिवेदनमा विश्वमा ठूला चुनौती सामना गर्ने भूराजनीतिक जोखिममा भारत पाँचौ नम्बरमा परेको हो । धार्मिक र सामाजिक द्वन्द्वका कारण भारतको विदेश नीतिसमेत प्रभावित हुने अमेरिकी एजेन्सीको अनुमान छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भारतमा भइरहेको हिन्दू बर्चश्वको लडाइले उसको आर्थिक अवस्था झनै ओह्रालो लागिरहेको रिपोर्टमा उल्लेख छ । जम्मु कश्मिर मुद्दा, लगातार भइरहेका विरोध प्रदर्शन र आर्थिक गिरावटले भारतको भूराजनीति चुनौतीपूर्ण रहेको रिपोर्टमा जनाइएको छ । यो वर्ष भारतमा धार्मिक द्वन्द्व अझ बढ्ने अनुमान उसले गरेको छ ।

अमेरिकी एजेन्सीले भनेको छ ‘नरेन्द्र मोदीले आफ्नो पहिलो र अहिलेसम्मको दोस्रो कार्यकालमा सामाजिक मुद्दामै ब्यतित गरेका छन् । यसबीचमा देशको आर्थिक एजेण्डा पछि परेको छ । सन् २०२० मा यसको असर देखिनेछ । विदेश नीति र अर्थनीतिमा यसले भारतलाई निकै असर पार्नेछ ।’

मोदी सरकारले जम्मु कश्मिरको विशेष राज्यको मान्यता हटाउनु, उत्तर पूर्वी भारतमा इस्लामिक घुसपैठियाका नाममा कडा नीति अख्तियार गर्नु, धर्मको आधारमा शरणार्थीलाई नागरिकता दिनु भारतको गम्भीर भूल रहेको भन्दै अमेरिकाले यसको पछि गृहमन्त्री अमित शाहको मुख्य हात रहेको जनाएको छ ।

अमेरिकी एजेन्सीले आगामी वर्ष भारतको राजनीति धर्मका आधारमा विभाजित हुने र यो साम्प्रदायिक राजनीति निकै तलसम्म पुग्ने अनुमान लगाएको छ । उसले आरएसएस र उसको हिन्दू राष्ट्रको एजेण्डामा सत्तारुढ भारतीय जनता पार्टी नराम्ररी फसिसकेको दावी गरेको छ ।

विश्वमा हुने ठूला राजनीतिक चुनौतिमध्ये अमेरिकी एजेन्सीले पहिलो नम्बरमा भने अमेरिकामा हुने राष्ट्रपति चुनावलाई नै देखेको छ । सन् २०२० को अन्तमा हुने चुनावले विश्वको तस्वीरमा धेरै फेरबदल हुने अनुमान एजेन्सीको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्