खोला उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या, स्थानीयले गरे राजमार्ग अवरुद्ध

Machchapuchchre

धनुषा । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्