नेपाल अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सामेल हुँदैनः मन्त्री पोखरेल

Machchapuchchre

कास्की । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले उक्त विषय संसदमा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए ।

“यो विषय संसदमा छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ”, उनले भने, “हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौँ ।” विद्युत्, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको उनले उल्लेख गरे ।

भारतसँगको सीमा विवादका सम्बन्धमा सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुंगोमा पुर्‍याइने धारणा राखे । “हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन”, उनले भने, “सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौँ ।”

सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघुर्‍याउने काम भएकामा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए । नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले कानूनसम्मत ढङ्गले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्