काठमाडौंसहितका स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपातको सम्भावना

Machchapuchchre

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘काठमाडौं उपत्यकासहितका स्थानमा आज (बुधबार) र भोलि (बिहीबार) वर्षाको सम्भावना देखिन्छ’–मौसमविद् सचिना शाक्यले इमेजखबरसित टेलिफोनमा भनिन् । उनकाअनुसार काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका नुवाकोट, धादिङ, मकवानपुरलगायतका स्थानमा वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । पश्चिम र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । बुधबार राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, बिहीबार राति देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहनेछ । पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमका एक/दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले वर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपायहरु अपनाउन अनुरोधसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्