इरानले मिसाईल आक्रमण गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले बोलाए उच्च सुरक्षा अधिकारी बैठक

Machchapuchchre

काठमाडौं । इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स्पर्स तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागि थिए ।

बैठक पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने भनिएको थियो तर अब नगर्ने भएका छन् । साथै, ह्वाईट हाउसले थप कुनै पनि औपचारिक धारणा सार्वजनिक नगर्ने समाचार माध्यमले जनाएका छन् ।

अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको हर्कत भएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिलाई युद्धको अवस्थामा यथोचित कदम चाल्न कानूनले प्रशस्त अधिकार दिएको पनि बताएका छन् ।

इरानका विदेशमन्त्री जादव जाविदले आफ्नो मुलुक विरुद्ध आक्रमण गर्न प्रयोग गरिएका अमेरिकी सैन्य निशानामा समानान्तर आक्रमाण गरी इरानले आत्मरक्षा गरेको बताएका छन् । जाविदले अमेरिकी सैन्य अड्डामा आफ्नो सेनाले संयुक्त राष्ट्रसंघको आत्मरक्षा सम्बन्धि कानून अनुसार आक्रमण गरेको दाबी गरेका छन् । साथै उनले युद्धलाई थप नभड्काउने तर अमेरिकाका तर्फबाट भड्किए आत्मरक्षा गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै इरानले दुईवटा अमेरिकी निशानामा आक्रमण गरेको र क्षतिको विवरण संकलन जारी रहेकाले अमेरिकाको स्थानीय समय बुधबार बिहानमात्र औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले अमेरिकासँग शक्तिशाली स्रोतसाधनयुक्त सेना रहेको समेत स्मरण गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्