सवारी दुर्घटनामा कांग्रेस महासमिति सदस्य रायको मृत्यु

Machchapuchchre

बर्दिबास । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । काठमाडौंबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो ।

मंगलबार बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्‍याइएको थियो । तर, अस्पतालमा पुर्‍याउँदा बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताए ।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए । त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् । घाइतेहरुको बर्दिबासस्थित शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्