Artharajniti ~ नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरूबाट ६० अर्ब रूपैयाँ खिच्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ। बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्।निक्षेप झिक्न आउने सर्वसधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।जतिबेला चाहिन्छ त्यो बेला झिक्न सकियोस् भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्। यस्ता सम्पत्ति भनेको सरकारी ऋणपत्रहरू नै हुन्। केही रकम नै पनि बैंकहरूले राष्ट्र बैंकमा राख्छन्। त्यस बाहेक राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।
यसअघि माघ २७ गते राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ खिच्न खोज्दा बैंकहरूले भने ४३ अर्ब ५० करोड रूपैयाँ राख्न खोजेका थिए। बैंकहरूले ३० अर्ब रूपैयाँ औसत २.९९९५ प्रतिशत ब्याजदरमा राखेका छन्। माघ २९ गतेसम्म राष्ट्र बैंकमा विभिन्न उपकरणबाट तानिएको बैंकहरूको दुई खर्ब ५० अर्ब रूपैयाँ फिर्ता हुन बाँकी देखिन्छ। तर, यसअघि माघ ९ गते खिचेको ९० अर्ब रूपैयाँ अवधि सकिएर (परिपक्व भएर) आजै बैंकिङ प्रणालीमा फर्कने भएको छ। बुधबार खिच्न लागेको ६० अर्ब बराबर नै सबै रकम बैंकहरूले राख्न ल्याएमा साँझसम्म राष्ट्र बैंकमा बैंकहरूको करिब दुई खर्ब २० अर्ब रूपैयाँ बाँकी रहने देखिन्छ। यसअघि राष्ट्र बैंकमा बैंकहरूले राख्दै आएको रकम चार खर्बसम्म पुगेको थियो।