लक्ष्मी सनराइज बैंकको अगुवाइमा अपर मर्स्याङ्दी– १ आयोजनामा लगानी

Machchapuchchre

Artharajniti  ~  लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण गर्न लागिएको १०२ मेगावाट क्षमताको अपर मर्स्याङ्दी -१ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । उक्त आयोजनामा लगानी गर्नका लागि लक्ष्मी सनराइज बैंकले अगुवाइ गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंक नेतृत्वमा सहभागी बैंकहरू र अपर मर्स्याङ्दी हाइड्रोपावर प्रालिबीच हस्ताक्षर सम्पन्न भएको छ । अपर मर्स्याङ्दी -१ को लागत २१.४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । अपर मर्स्याङ्दी -१ जलविद्युत् आयोजनाले १० पुस २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिएर ९ पुस २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्तकमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । अपर मर्स्याङ्दी -१ परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत लगानी सो कम्पनीका प्रवर्तक/संस्थापकहरूले गर्नेछन् । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।  सो आयोजना जून २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रूपमा रहने विश्वास गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्