असोजमा पनि निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम

Machchapuchchre

Artharajniti  ~  वाणिज्य बैंकहरूले असोजमा पनि निक्षेपको ब्याजदर नबढाउने सम्भावना देखिएको छ। बैंकहरूमा कर्जाको विस्तार उत्साहजनक नदेखिएको र कर्जा लगानी योग्य पुँजी पर्याप्त नै रहेकोले निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम रहेको बैंकरहरूले बताएका छन्। ‘गत वर्षकोभन्दा कर्जा लगानीमा केही सुधार भएको त छ तर उत्साह नै जगाउने गरेर भएको छैन,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘अहिले पनि कर्जा लगानी योग्य रकम उल्लेख रहेकोले पनि असोजमा निक्षेपको ब्याजदर सामान्य घट्न सक्छ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे पनि आगामी महिना निक्षेपको ब्याजदर नबढ्ने सम्भावना रहेको बताउँछन्। ‘हाम्रो बैंकबाट कर्जा विस्तारमा खासै सुधार छैन, तर पनि कुनै बैंकहरूमा निक्षेप परिपक्व भएको भए, अर्को बैंकमा निक्षेप सरेको भए केहीको बढ्न सक्छ,’ पाण्डेले स्पष्ट पारे, ‘औसतमा भने निक्षेपको ब्याजदर नबढ्ने सम्भावना नै छ।’ राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले निक्षेपको ब्याजदर हरेक महिना १० प्रतिशत विन्दुको आधारमा मात्रै घटबढ गर्न पाउँछन्। बढाउने बैंकहरूले पनि निक्षेपमा धेरै ब्याजदर बढाउन सक्ने सम्भावना हुँदैन। भदौमा निक्षेपमा दिने बैंकहरूको औसत ब्याजदर केही घटेको थियो। साउनको लागि बैंकहरूले निक्षेपमा औसत ब्याजदर ६.६७ प्रतिशत दिइरहेकोमा भदौमा ६.४६ प्रतिशत दिएका थिए।

निक्षेपको ब्याजदर नबढ्ने भएपछि कर्जाको ब्याजदरमा समेत प्रभाव नपर्ने भएको छ। कर्जाको ब्याजदर थप केही घट्ने सम्भावना रहेको बैंकर केसी बताउँछन्। ‘गत वर्ष साउन भदौमा बैंकहरूले ११ प्रतिशत हाराहारीसम्म निक्षेप उठाएका छन्, ती परिपक्व भइरहेका छन्,’ केसीले थपे, ‘अहिले त निक्षेपको लागत निकै घटेको छ यसले आधार दर थप घट्न सक्छ।’ कर्जाको ब्याजदर तय गर्न लिइने आधार दर घट्ने भएकोले कर्जाको ब्याजदर थप बढ्ने सम्भावना न्यून छ। तीन/तीन महिनाको औसत आधारदरबाट कर्जाको ब्याजदर समायोजन हुन्छ। आयातको लागि कर्जाको माग बढ्न सकेको छैन। यस्तो माग बढ्न थालेमा पनि धेरैजसोको क्रेडिट लिमिट बाँकी रहेकोले कर्जाको ब्याजदर तत्काल नबढ्ने पनि बैंकरहरू बताउँछन्। बैंकरहरूका अनुसार गत वर्ष साउन भदौमा करिब २०/३० अर्ब रूपैयाँ कर्जा लगानी भएकोमा यो वर्ष अहिले सोभन्दा लगानी बढेको छ। बैंकरहरूका अनुसार अहिले पनि धेरैको कर्जा निक्षेप अनुपात ८० प्रतिशत हाराहारी छ भने केहीको अझै कम छ। राष्ट्र बैंकको नियम अनुसार निक्षेपको ९० प्रतिशतसम्म बैंकहरूले कर्जा लगानी गर्न पाउँछन्। यसआधारमा अहिले पनि बैंकहरूसँग करिब सात खर्ब बराबर रकम कर्जा लगानी योग्य पुँजी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्