बैंकहरूमा सेयर कर्जाको माग बढ्यो

Machchapuchchre

Artharajniti   ~  अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । ‘बजार बढ्ने क्रममा रहँदा सेयर कर्जाको माग बढ्ने गरेको देखिन्छ’ केसीले भने, ‘अहिले पनि सेयर कर्जाको माग बढेको छ ।’ साउनमा वाणिज्य बैंकहरुबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । ‘पोहोरको साउनमा वाणिज्य बैंकहरुबाट जाने सेयर धितो कर्जा २० अर्ब घटेको थियो तर अहिले २ अर्ब प्लस छ, त्यसकारण यो कर्जामा केही सकारात्मक संकेत देखिएको छ’ उनले भने । यद्यपि एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन। तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ । जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताए । तर धेरैआवेदन प्रक्रियामै रहेको बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् । नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बजार बढ्दा सेयर कर्जा पनि बढेको बताउँछन् । बजार बढ्दा दुई कारणले सेयर धितो कर्जा बढ्ने गरेको ज्ञवाली बताउँछन् । पहिलो कारण हो– सेयरको मूल्य नै बढ्नु । ‘सेयरको मूल्य बढ्दा कर्जा दिइने रकम पनि बढ्न जान्छ, त्यसले प्रवाह हुने कर्जा रकम बढाउँछ’ ज्ञवालीले भने ‘दोस्रो कारण – कर्जा माग गर्नेको संख्या पनि बढ्न जान्छ ।’ धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म बैंकहरुले कर्जा दिन सक्ने व्यवस्था छ । सेयरको मूल्य बढ्दै जाँदा यो ७० प्रतिशतको रकम पनि बढ्न जान्छ, जसले गर्दा सेयर धितो कर्जा बढ्ने गरेको बैंकर बताउँछन् । सेयर कर्जाको माग गर्नेहरू पनि बढेका छन् ।  पहिले बजार घट्दा कर्जा नलिइकन बसेका लगानीकर्ता पनि यतिबेला कर्जा लिन खोज्ने गर्छन् । जसले गर्दा सेयर कर्जाको माग बढेको ज्ञवाली बताउँछन् । सेयर धितो कर्जामा एउटा बैंकले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै प्रदान गर्न पाउने व्यवस्था राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० मा छ । कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी प्रवाह भएमा बढी भएको रकम बराबर पूँजी कोषबाट घटाउनुपर्ने हुन्छ । यहीं व्यवस्थाका कारण बैंकहरुले मनलाग्दी रुपमा सेयरधितो कर्जा दिन सक्दैनन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्