घरजग्गाको कारोबार बढ्न थालेपछि बैंकहरूलाई राहत

Machchapuchchre

Artharajniti  ~  घरजग्गाको कारोबारमा झिनै भए पनि सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको छ। आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो।  ‘साना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहनु भएको छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने। लगातार चार महिनासम्म स्थिर रहेको घरजग्गा कारोबार जेठमा बढेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको थियो। चालु आर्थिक वर्ष २०८०/८१ को माघ अघि घरजग्गाको कारोबार घटबढ भइरहेको थियो। तर माघदेखि वैशाखसम्मै घरजग्गा कारोबार स्थिर रह्यो। जेठमा भने कारोबारमा केही सुधार देखियो। विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो। वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएका थिए। यो कारोबार गत वर्ष जेठको मासिक कारोबारको तुलनामा पनि ११ प्रतिशतले धेरै हो। गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो। घरजग्गाको मूल्यमा सामान्य गिरावट आइरहेको भए पनि कारोबारमा केही सुधार भइरहेको र यो क्रम असारमा पनि देखिएको बैंकरहरूले बताएका छन्। यही कारण बैंकहरूको कर्जा असुलीमा पनि केही सहज भएको छ। ‘नेपाली ऋणीहरूको प्रवृत्ति कम्तीमा वर्षअन्त्यमा कर्जाका किस्ता बाँकी नराख्ने छ,’ केसीले थपे, ‘यही कारण बैंकहरूको कर्जा असुलीमा केही न केही टेवा पुगेको छ।’त्यस्तै, केही समयदेखि सेयर बजारमा समेत झिनो सुधार देखिदै गएको छ। यसले पनि लगानीकर्ताहरूको ऋण भुक्तानी क्षमतामा केही न केही वृद्धि गर्ने मानिएको छ।  बैंकर केसी अब बैंकहरूको खराब कर्जा धेरै वृद्धि नहुने अनुमान गर्छन्। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत छ। यो अनुपातमा बजारमा हल्ला आएजसो ५/७ प्रतिशत पुग्ने गरेर धेरै वृद्धि नहुने बैंकरहरूको भनाइ छ। अहिले बैंकहरूले असल कर्जामा १.२० प्रतिशत र निष्क्रिय कर्जामा ५ देखि शत प्रतिशतसम्म नोक्सानी व्यवस्था मानेर रकम राख्नु पर्छ।  त्यस्तै, चालु पुँजी कर्जामा व्यवसायीहरूले अझै समस्या भोगिरहेकाले यसले पनि खराब कर्जा घट्ने अवस्था नै भने नआउने उनीहरूको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्