” आर्थिक शिथिलताले बैंकहरूको निष्क्रिय कर्जा बढ्यो ” : गभर्नर अधिकारी

Machchapuchchre

Artharajniti  ~  गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुलाई अहिले साँवा तथा ब्याज अशुल (रिकभरी)मा चुनौती देखिएको औंंल्याए । हाल व्यवसायमा मनोबल कमजोर, समग्र मागमा आएकाले रिकभरी चुनौतिपूर्ण देखिएको उनको भनाइ छ । कतिपय व्यक्तिमा बैंकको कर्जा नतिरे पनि हुन्छ भन्ने गलत भाष्य विकास गरिएको उनले बताए । केहीले नियतवश नै कर्जा नतिरेको गभर्नर अधिकारीको भनाइ छ । राष्ट्र बैंकले अब ‘क्रेडिट स्कोरिङ’ विकास गर्न लागेको उनले बताए । एउटाभन्दा बढी लघुवित्तबाट ऋण लिएकालाई कडा निगरानी र कारबाही गरिरहेको अधिकारीले बताए । ‘एउटै व्यक्तिले २३ वटा संस्थाबाट पनि कर्जा लिएको देखियो, यसरी ऋण दिनेलाई मात्रै होइन लिनेलाई पनि बैंकिङ कसुरमा कारबाही गर्ने गरेका छौं ।’लघुवित्तको डुब्लिकेसन हटाउँदा ऋणीको संख्या २२/२३ लाखमा आउने आँकलन रहेको उनले बताए । आर्थिक शिथिलताकै कारण सहकारीमा समस्या आएको उनले बताए । ‘सहकारीमा सर्वसाधारणको विश्वास भयो, तर नियमन नहुने, केही सहकारी बैंकजसरी अगाडि बढे’ अधिकारीले भने ‘समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि विशेष टिम बनाउनुपर्छ ।’ समस्या भएका वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन गर्न एसेट्स म्यानेजमेन्ट कम्पनी (एमसीए) एउटा विकल्प हुन सक्ने गभर्नर अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्