” भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छः ” प्रधानमन्त्री दाहाल

Machchapuchchre

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट आपसीहितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गनिर्देश गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भ्रमणका क्रममा आफू भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएको जानकारी दिनुभयो । आज भारतका राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको बताउनुभयो ।

आजै भारतका नवनियुक्त सङ्घीयमन्त्री डा. एस जयशङ्करले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदानप्रदान भएको स्पष्ट पार्नुभयो । नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने विश्वास दिलाउनुभएको उहाँको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्