तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीको शपथ लिने कार्यक्रम

Machchapuchchre

Artharajniti  ~ नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। मोदीले आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई निम्तो गरिएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो १ बजे नयाँ दिल्लीतर्फ जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले लोक सभा सदस्य निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले बधाई दिएका थिए। त्यसबेला भएको फोनवार्तामा पनि शपथग्रहण समारोहमा मोदीले दाहाललाई आमन्त्रण गरेका थिए।  मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलगायत नयाँ दिल्ली जाने कार्यक्रम छ। उनीहरू सोमबार स्वदेश फर्किनेछन्। दुई पटक बहुमतको सरकार बनाएर प्रधानमन्त्री बनेका मोदी यसपालि बिहारका मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगु देसम पार्टी (टिडिपी) लगायतको साथ लिएर प्रधानमन्त्री बनेका हुन्। भारतमा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ। भाजपाले उक्त बहुमत ल्याउन नसकेपछि गठबन्धनको सरकार बनाउन लागेको हो। भाजपाले २४० सिट मात्रै जितेको थियो।  भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) ले २९३ सिट जितेको थियो भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्