प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुखको अपिल

Machchapuchchre
Artharajniti   ~  संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधलाई हटाउने विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री र सभामुखबीच करिव ४५ मिनेट छलफल भएको थियो। सो क्रममा सभामुख घिमिरेले संसद्‍बाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए। संसद् संचालन भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको तथा केही विधेयकलाई समितिमा पठाउन सकिने उनले जानकारी दिए। घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीसँग अपिल गरे। प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताए। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ। समिति गठनलाई लगातार टार्दै आएको सरकार नीति तथा कार्यक्रम प्रस्तुतिको कार्यसूची नै बिथोलिने संशयमा थियो। बाक्लो छलफल चलिरहँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्न भने कांग्रेस लचिलो बनेको थियो। मंगलबार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि भने कांग्रेस सांसदहरू दुवै सदनमा नाराबाजीमा उत्रिएका थिए। जसले दुवै सदनका बैठक स्थगित भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्