‘सरसफाइमैत्री पालिका’ साकेला

Machchapuchchre

अर्थ राजनीति ~ साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ । गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाइमैत्री पालिका’ बनाउन डस्टबिन राख्न सुरु गरेको हो ।

जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहरमैला हटाउनुका साथै आवश्यकपर्ने र बढी जनघनत्व हुने ठाउँमा डस्टबिन राखेको छ । गाउँपालिकाको समृद्धिका लागि हरेक दिन विविध गतिविधि गर्दै आएको पालिकाले सार्वजनिक बिदाका दिनमा समेत फोहरमैला व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।

गाउँपालिकाले सुरु गरेको अभियानमा गाउँपालिकाअन्तर्गतका सबै कर्मचारी औपचारिक पोशाक लगाएरै उत्साहका साथ सहभागी हुने गरेका छन् । गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ ।

विभिन्न ठाउँमा राखिएका डस्टबिनमा सङ्कलन गरिएका फोहरमैलालाई गाउँपालिकाले डम्पिङसाइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ । फोहरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाकोसमेत व्यवस्थापन भइसकेको र डम्पिङसाइट निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभएको छ ।

गाउँपालिकाले सुरु गरेको फोहरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकसमेत अग्रसर भएर लागिपरेका छन् । “पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफैँ अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पूरा हुन्छ”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ । स्थानीय सरकारले सुरु गरेका सकारात्मक अभियानमा नागरिकले पनि साथ दिनेरहेछन् ।”

गाउँपालिकास्थित पूर्ण सरसफाइ कार्यक्रमको आयोजनामा भएको सरसफाइ कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय व्यवसायी र सरोकारवाला निकायको सहभागिता रहने गरेको छ । फोहरमैला व्यवस्थापनबारे पूर्ण सरसफाइ कार्यक्रमका कर्मचारीबाट सडक नाटकसमेत प्रस्तुत गरिएपछि सरसफाइ अभियानको कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमैला व्यवस्थापन र पूर्ण सरसफाइको कार्यक्रम पालिकाका सबै वडा र टोल तथा बस्तीमा नियमितरुपमा गरिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिनुभयो । सरसफाइमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम एक वर्षदेखि भने गाउँपालिका आफैँले सञ्चालन गरिरहेको छ ।

हरेक विकास निर्माणका कामलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्ने गाउँपालिका प्रमुख राईले बताउनुभयो । यसैक्रममा गाउँपालिका प्रमुख राईले विकास निर्माणका काम तथा परिवर्तनका लागि आफू केन्द्रित हुन नहुने धारणासमेत व्यक्त गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्