रास्वपाको शक्ति बढ्दा कांग्रेसमा भय

Machchapuchchre

अर्थ राजनीति ~   तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।कांग्रेसभित्र आफ्नो विकल्पको रूपमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनिदेला कि भन्ने डर उब्जिएको छ । वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा रास्वपाको उदय भए पार्टीको शक्ति खस्किन सक्ने नेताहरूको बुझाइ छ । कांग्रेस परित्याग गरेर एमाले वा माओवादी केन्द्र प्रवेश गर्न असहज हुने हिजोको अवस्थामा परिवर्तन भएर नेता कार्यकर्ताका लागि रास्वपा एउटा लोकतान्त्रिक विकल्प हुनसक्ने आंकलन नेताहरूको छ । त्यसैले रास्वपालाई तनहुँमा रोक्ने भरमग्दुर प्रयत्नमा थियो कांग्रेस । उपनिर्वाचन भएका तीनमध्ये कांग्रेसले प्रतिष्ठाको लडाईं तनहुँ–१ लाई बनाएको थियो । तनहुँ–१ लाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुमा मूलतः तीन कारण थिए ।पहिलो, राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र जोगाउनु । दोस्रो, कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भएका डा. स्वर्णिम वाग्लेसँग बदला लिनु । तेस्रो, वाग्ले निर्वाचित हुँदा कांग्रेस परित्याग गरेर लाग्न सक्ने लर्को रोक्नु र रास्वपालाई वैकल्पिक दलमा स्थापित हुन नदिनु ।स्वर्णिमको बर्हिगमनलाई कांग्रेसले ‘धोका’ को रूपमा बुझेको छ । महामन्त्री गगन थापा निकट रहेर काम गरेका उनले अकस्मात पार्टी परित्याग गर्दा थापा पनि आश्चर्यमा परेका थिए । सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाप्रति आक्रोश व्यक्त गर्दै उनी कांग्रेसबाट बाहिरिएका थिए ।तर, छ हजार ४१३ क्रियाशील सदस्य रहेको तनहुँ–१ मा कांग्रेसले ‘शर्मनाक’ हार व्यहोर्नुपरेको छ । रास्वपाका उम्मेदवार रोक्न जोडतोडले नेताहरू सक्रिय भएको यो क्षेत्रमा समेत पौडेलको विरासत कांग्रेसले जोगाउन सकेन ।

रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाले मूलधारमा सर्वाधिक क्षति आफ्नो दललाई पुर्‍याउने कांग्रेस नेताहरूको बुझाइ छ । पार्टीप्रतिको वितृष्णा पैदा भएका निष्ठाको राजनीति गर्नेहरू, वर्षौं अवसरबाट वञ्चित नेता कार्यकर्ताका लागि विकल्पको दल रास्वपा हुनसक्ने सम्भावना छ । स्वर्णिमको बहिर्गमनले यसलाई थप बलियो बनाएको छ ।तनहुँमा दुईपटक जिल्ला सचिव बनेका विश्व बास्तोला कांग्रेस परित्याग गरेर रास्वपाको प्रचार संयोजक भएर खटिए । तनहुँका बौद्धिक व्यक्तित्व डा. शेषनारायण न्यौपाने कांग्रेस परित्याग गरेर स्वर्णिमको चुनावी प्रचारमा लागे ।  तनहुँमा नेता कार्यकर्ता कांग्रेसबाट बाहिरिँदै गर्दा त्यसको असर अन्य जिल्लामा समेत पुगिसकेको छ । नवलपुरका सचिव करुणा सागर सुवेदीले दुई साताअघि कांग्रेसबाट राजीनामा दिए । स्थानीय तहको चुनावको घोषणापत्र तयारी समितिको सदस्य रहेकी शिलशिला आचार्यले स्वर्णिमसँगै कांग्रेस छोडिन् । निर्वाचित भएपछि कांग्रेसका नेता कार्यकर्ता तान्न स्वर्णिमलाई नैतिक बल थपिन्छ र कांग्रेसले व्यहोर्नुपर्ने क्षतिको अनुपात बढेर जानेछ । ‘स्वर्णिम पराजित हुँदा कांग्रेसका नेता कार्यकर्तालाई रास्वपामा आमन्त्रण गर्न उनीसँग नैतिक बल कमजोर हुने थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘निर्वाचित हुँदा कांग्रेसमा रहेका क्षमतावान् र अवसरबाट वञ्चितहरूलाई तान्न उनी उच्च मनोबलका साथ लाग्न सक्छन् ।’स्वर्णिम बाहिरिँदा स्वाभाविक रूपमा पार्टीलाई क्षति पुगेको कांग्रेस नेता गुरुराज घिमिरे स्विर्काछन् । ‘नागरिकले पत्याएको र क्षमतावान व्यक्ति हुन् । योग्यता र क्षमता भएका हरेक व्यक्तिमा महत्वकांक्षा भइहाल्छ,’ घिमिरे भन्छन्, ‘उनी जस्तै क्षमतावान व्यक्ति धेरै कम छन् । उनले जनता माझ देखिनेगरि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेका हुन् ।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्