आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन, २०७८/७९’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा (पार्वती) ले ‘“’राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस’”’ भन्ने प्रस्ताव प्रस्ततु गर्नुहुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सो प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र सो प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्