मेयर शाह : बारम्बार गरिएको प्रयास माथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको नतिजा

Machchapuchchre

अर्थ राजनीति :  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुश भएको बताएका छन्। आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय गर्न नसकेको उनको भनाइ छ। ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक-पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ,’ आज बिहान मेयर शाहले फेसबुकमा लेखेका छन्। संघीय सरकारसँग समन्वय गरी काम गर्न बारम्बार प्रयास गरिएको पनि उनको भनाइ छ। ‘बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष सिंहदरबारको फोहोर नउठाउने निर्णय हो,’ उनले भने। स्थानीय समस्या समाधानका लागि संघीय सरकारले गाँठो फुकाइदिनुपर्ने उनले बताए। ‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भने। संघीय सरकारले स्थानीय सरकारको अस्तित्व स्वीकार नगरेको पनि उनको आरोप छ। ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने?,’ उनले प्रश्न गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्