मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

Machchapuchchre

अर्थ राजनीति  ~  मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे । घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए । किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्। पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए । सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ । ‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद् मा  ल्याउन र संसद् मा  दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो  कानुन संसद्मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’,  प्रेस संयोजक शर्माले भने ।

Nabil bank

नेपाल प्रहरीका अनुसार मिटरब्याजीका १ हजार ३ सय ३७ गुनासा आएका छन् भने जसमध्ये ३० वटा मुद्दा दर्ता र २६ जनालाई पक्राउ गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्