बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष

Machchapuchchre

अर्थ राजनीति  ~  सत्ता साझेदार दल जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि एक पटक आमनेसामने हुने भएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने उद्घोष नै गरेका हुन् । बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाए । यादवमाथि खनिएका राउतले उनलाई ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरे ।  गत मङ्सिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा यादव राउतसँग पराजित भएका थिए । त्यसैले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादव सो क्षेत्रबाट संसद्मा ‘कम्ब्याक’को तयारी लागेका छन् । तर राउतले बारामा पनि यादवका विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।  उनले यादवलाई नहराएसम्म मधेसमा परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् । ‘के बारामा कोही माइकालाल छैन, उपेन्द्र यादवसँग चुनाव लड्ने ?,’ उनले प्रश्न गरे । राउतले बारामा आफ्नो पार्टीबाट जबरजस्त उम्मेदवारी दिलाउने घोषणासमेत गरेका छन् । उनले गढीमाइको दर्शन गरेर ‘मिसन–२’ सुरुसमेत गरेका छन् । अहिले जसपा र जनमत पार्टी एउटै गठबन्धनमा छन् । मधेस प्रदेश सरकारमा पनि दुवै दल सहकार्य गरेका छन् । तर अध्यक्ष राउत गठबन्धनले गरेको निर्णयविपरीत गइरहेका छन् । यसअघि गठबन्धनले जसपाका रामसहाय यादवलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउँदा  राउतले आफ्नो पार्टीबाट पनि उपराष्ट्रपतिमा उम्मेदवार उठाएका थिए । गठबन्धनको बैठकमा अध्यक्ष राउतलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवारलाई निष्क्रिय गर्न आग्रह गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका थिए । जनमतका अध्यक्ष राउतले आफ्नो पार्टीले पनि त्यहाँ उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यी दुई नेताको टक्करले बारा–२ मा कस्तो परिणाम ल्याउँछ त्यो हेर्न बाँकी नै छ । बारामा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्