सहकारी नियमन गर्न राष्ट्र बैंकले नसक्ने : न छ कानुन, न पुग्छ क्षमता

Machchapuchchre

अर्थ राजनीति  ~  ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी सहकारी ऐन संशोधन हुन लागेको छ । नेपाल सरकारले संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहकारी ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । जुन ऐनको संशोधन प्रस्तावमा भनिएको छ, ‘२५ करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा ५० करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा त्यस्ता संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले समेत गर्नेछ ।’  तर, अहिलेको अवस्थामा नै नेपाल राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नसक्ने देखिएको छ । सहकारीलाई नियमन गर्न राष्ट्र बैङ्कसँग न कानुन छ न क्षमताले नै पुग्छ । अहिलेको अवस्थामा सहकारी नियमन गर्न राष्ट्र बैंकले नसक्ने नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले नै स्वीकारेका छन् । उनले आइतबार सहकारीमा सङ्कट कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा प्रश्न गर्दै भनेका छन्, ‘अहिले आएर ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नु पर्छ भनिएको छ । यसका लागि राष्ट्र बैङ्कसँग न कुनै ऐन छ । न कुनै सुविधा दिएको छैन ।

उनका अनुसार कुनै पनि रेगुलेटरले संस्थाको स्थापना गर्न लाइसेन्स दिन्छ । लाइसेन्स दिनेलाई के अधिकार हुन्छ भने त्यो संस्थाले गम्भीर प्रकृतिको गल्ती गर्‍यो भने सुधार गर्ने मौका दिन्छ । त्यसका पदाधिकारीहरूलाई कारबाही गर्छ । ती कारबाहीबाट पनि सम्भव भएन भने त्यस्तो संस्थाको लाइसेन्स खारेज गर्छ । योसम्मको अधिकार राष्ट्र बैंकले पाउँछ या पाउँदैन भन्ने विषय अन्योल रहेको उनले बताए ।  यो सबै अधिकार राष्ट्र बैंकले पाएन भने भोलिका दिनमा काम गर्न सक्दिन भन्ने दिन नआउला भन्न नसकिने बताउँदै सिवाकोटीले अगाडी भने, ‘तर, यहाँ पनि एउटा प्रश्न छ, ५० करोड भन्दा पुँजी भएका सहकारीहरूलाई नियमन गरे भनेर भनिरहँदा त्यो सहकारीको निरीक्षण गरेर आउँदा राष्ट्र बैंकले कारबाही गर्न पाउने कि नपाउने त ? निरीक्षण गरिदिने अनि निरीक्षणको रिपोर्ट बुझाइदिने मात्र काम हामीले गर्नु पर्ने हो त ?’ स्थापनाको लागि लाइसेन्स दिनेदेखि अनुगमन कारबाहीसम्मको अधिकार राष्ट्र बैंकलाई नै दिने हो भने राष्ट्र बैंक अन्तर्गत एउटा छुट्टै विभाग खोलेर भए पनि काम गर्न सम्भव हुने बताए । उनले भने, ‘ऐन संशोधन गरेर राष्ट्र बैंकलाई काम गर्न लगाउने हो भने यसले गर्न नै सक्दैन भन्न खोजिएको त होइन । तर, अहिलेको अवस्थामा नै केही अधिकार हामीसँग छैन । लाइसेन्स दिनेदेखि अनुगमन कारबाहीसम्मको अधिकार हामीलाई दिने हो भने सहकारी सुपरिवेक्षण विभाग खोलेर काम गर्न भने सम्भव हुन सक्छ ।’उनका अनुसार परिवारवाद जस्ता सहकारी बढी भएको देखिएको छ । यसले गर्दा पनि समस्या देखिएको हो । यसमध्ये पनि सबैभन्दा बढी समस्या देखिएको कारण भनेको विश्वभर आएको आर्थिक मन्दीको असर नै हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्