बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन

Machchapuchchre

अर्थ राजनिति  ~  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ । तर, वाणिज्य बैंकहरूले मौद्रिक नीतिलाई बेवास्ता गर्दै आफूखुसी स्प्रेडदर र आधारदर बढाएका छन् । बैंकहरूले कर्जा लगानीमा अधिक नाफा राखेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर समान ०.४ प्रतिशतले घटाउने नीति लिएको छ । आगामी असार मसान्तसम्म वाणिज्य बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्ने नीति लिएको मौद्रिक नीतिले यता विकास बैंक र फाइनान्स कम्पनीहरूको समाज ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झार्ने नीति लिएको छ । तथापि, दुई चरणमा गरेर स्प्रेडदर घटाउने नीति लिएको केन्द्रीय बैंकले चैत मसान्तसम्म ०.२ प्रतिशतले स्प्रेडदर घटाउनुपर्ने व्यवस्था गरेको छ । तर, यता बैंकहरूले भने पुस मसान्तसम्ममा नै थप स्प्रेडदर वृद्धि गर्दै ४.४८ प्रतिशतसम्म पुर्‍याएका छन् । बैंकहरूले जारी गरेको स्प्रेडदर अनुसार कूल २२ वटा वाणिज्य बैंकहरूमा १७ वटा बैंकले स्प्रेडदर बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

पुस मसान्तको तथ्याङ्क हेर्दा सबैभन्दा बढी नबिल बैंकले ४.४८ प्रतिशत स्प्रेडदर कायम गरेको छ । तथापि, यता ७.३९ प्रतिशत बेसरेट (आधारदर) कायम गरेको बैंकले अधिकतम कर्जाको ब्याजदर १४–१५ प्रतिशत मात्र कायम गरिरहेको जनाएको छ ।यस्तै, १०.८ प्रतिशत बेसरेट रहेको कुमारी बैंकको स्प्रेडदर ४.४२ प्रतिशत रहेको छ । नेपाल एसबीआई, एनआईसी एसिया, सानिमा, एभरेस्टको स्प्रेडदर क्रमशः ४.४०, ४.३९, ४.३९, ४.३८ प्रतिशत रहेको छ । यी बैंकहरूको स्प्रेडदर अघिल्लो वर्षको पुस मसान्तको तुलनामा ५० प्रतिशतले वृद्धि भएको देखिन्छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा २५ प्रतिशतसम्मले वृद्धि भएको छ । बैंकहरूले जारी गरेको स्प्रेडदर अनुसार कूल २२ वटा वाणिज्य बैंकहरूमा १७ वटा बैंकले स्प्रेडदर बढाएका छन् भने ४ वटाले घटाएका छन् । एनआईसी एसिया बैंकले भने दोस्रो त्रैमासमा पनि आफ्नो स्प्रेडदर स्थिर राख्दै ४.३९ प्रतिशत कायम गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्